
नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि नुवाकोट–धादिङ तथा रसुवागढीसम्मको महत्वपूर्ण सडक सम्पर्क प्रभावित भएको थियो।
पुल बगेपछि स्थानीयवासी तथा यात्रुलाई आवतजावतमा ठूलो समस्या भएपछि सरकारले देवीघाटमा तत्काल वैकल्पिक पुल निर्माणलाई प्राथमिकतामा राख्यो। नेपाली सेनाले दिनरात खटिएर पाँच दिनमै ५७.९ मिटर लामो एक्रोब्रिज निर्माण गरी सञ्चालनमा ल्याएको हो।
बिहीबार बेलुकादेखि पुलबाट सबै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्। पुल सञ्चालनमा आएपछि बाढी प्रभावित क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको छ।
बेलकोटगढी–८ का स्थानीय सौगात पुडासैनीले पुल नहुँदा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने र घर पुग्न दुई–तीन घण्टा लाग्ने गरेकोमा अहिले करिब २५ मिनेटमै पुग्न सकिने अवस्था बनेको बताए।
त्यस्तै, स्थानीय मनोज तामाङले पनि बाढीले पुल बगाउँदा निकै समस्या भए पनि छोटो समयमै नयाँ पुल निर्माण भएपछि आवतजावत सहज भएको बताए।
नेपाली सेनाका अनुसार करिब ५५ जना प्राविधिक जनशक्ति परिचालन गरी ७२ घण्टाभन्दा बढीको कार्यअवधि नलाग्ने गरी पुल निर्माण सम्पन्न गरिएको हो। सेनाको १४ नं. बाहिनी अड्डाअन्तर्गतको ब्रिजिङ युनिटले गजुरीमा भण्डारण गरिएको रणनीतिक जगेडा एक्रोब्रिज देवीघाटमा ल्याएर जडान गरेको हो।
प्राविधिक परीक्षणपछि पुल सञ्चालनमा ल्याइएको हो। पुल निर्माणसँगै बाढीका कारण टुटेको सडक सम्पर्क पुनः जोडिएको छ।
अमेरिकी प्रविधिमा आधारित उक्त एक्रोब्रिजको भारवहन क्षमता ६० टन रहेको नेपाली सेनाले जनाएको छ।