नयाँ गृहमन्त्री सुधन गुरुङको फिल्ड निरीक्षण: सुधारको शुरुवात कि प्रतीकात्मक सक्रियता

पदभार सम्हालेको भोलिपल्टै गृहमन्त्री सुदन गुरुङ ले राजधानीका विभिन्न प्रहरी निकायको स्थलगत निरीक्षण सुरु गरेका छन्। ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तदेखि जिल्ला प्रहरी कार्यालय ललितपुर र महानगरीय ट्राफिक प्रहरी महाशाखासम्म पुगेका उनको यो सक्रियता अहिले चर्चा र विश्लेषणको विषय बनेको छ। विशेषतः, मन्त्री स्वयंले सवारी चलाएर निरीक्षणमा निस्कनु सामान्य औपचारिकता भन्दा फरक शैलीका रूपमा हेरिएको छ।

यसले एकातिर ‘ग्राउन्ड रियालिटी’ बुझ्ने इच्छाशक्ति देखाएको छ भने अर्कोतर्फ सुरक्षाकर्मी र प्रशासनिक संयन्त्रमा प्रत्यक्ष सन्देश दिन खोजिएको संकेत गरेको छ। गृहमन्त्री नियुक्त भएसँगै अधिकांश मन्त्रीहरू प्रारम्भिक चरणमा मन्त्रालयभित्रको ब्रिफिङमा सीमित हुने चलन रहँदै आएको छ। तर गुरुङले फिल्डमै पुगेर कामको अवस्था बुझ्ने प्रयास गरेका छन्। यसलाई प्रशासनिक सुधारको प्रारम्भिक संकेतका रूपमा लिन सकिन्छ।

सुरक्षा निकायभित्र कार्यसम्पादन, अनुशासन, सेवा प्रवाह र जनविश्वासका विषयमा निरन्तर प्रश्न उठिरहेका बेला मन्त्रीको यस्तो सक्रियता ‘माथिबाट निगरानी’ कडा हुने सन्देश पनि हो। गुरुङको निरीक्षणले प्रहरी संगठनभित्र दुई किसिमको प्रभाव पार्ने देखिन्छ। पहिलो, जिम्मेवारीबोध र कार्यक्षमता बढाउने दबाब सिर्जना हुन सक्छ। दोस्रो, यदि यो केवल प्रारम्भिक ‘इम्प्रेसन म्यानेजमेन्ट’ मात्र हो भने दीर्घकालीन प्रभाव सीमित रहन सक्छ।

विशेषगरी ट्राफिक व्यवस्थापन, शहरी सुरक्षाको चुनौती र अपराध नियन्त्रणका मुद्दामा काठमाडौं उपत्यका प्रहरी निरन्तर आलोचनाको केन्द्रमा रहँदै आएको छ। यस्तो अवस्थामा मन्त्रीको प्रत्यक्ष निगरानीले सुधारको गति बढाउने अपेक्षा गरिएको छ। यो कदम राजनीतिक कोणबाट पनि हेरिएको छ। हालको अस्थिर राजनीतिक वातावरण र सरकारप्रति बढ्दो असन्तुष्टिको बीचमा नयाँ गृहमन्त्रीले ‘एक्शन–ओरिएन्टेड’ छवि निर्माण गर्न खोजेको देखिन्छ।

गृहमन्त्रालय सधैं संवेदनशील मन्त्रालयका रूपमा चिनिन्छ, जहाँ सुरक्षा, प्रशासन र राजनीतिक दबाबको सन्तुलन मिलाउनुपर्ने हुन्छ। गुरुङको प्रारम्भिक सक्रियताले उनी आफूलाई ‘निर्णायक’ र ‘फिल्ड–ओरिएन्टेड’ नेताका रूपमा स्थापित गर्न चाहेको संकेत दिन्छ। तर केवल निरीक्षणले मात्र सुधार सम्भव हुँदैन। प्रहरी सुधार, स्रोत व्यवस्थापन, प्रविधिको प्रयोग, राजनीतिक हस्तक्षेपको नियन्त्रण र जनमैत्री सेवा प्रवाह जस्ता दीर्घकालीन मुद्दा समाधान नगरेसम्म स्थायी परिवर्तन सम्भव हुँदैन। यस्तै, प्रहरी संगठनभित्रको संरचनात्मक समस्या, कर्मचारी अभाव, तालिम र उपकरणको कमी पनि उत्तिकै महत्वपूर्ण छन्।

गृहमन्त्री गुरुङले आज पनि विभिन्न सुरक्षा निकाय र कार्यालयको निरीक्षण जारी राख्ने तयारी गरेका छन्। उनको ‘फिल्ड–फोकस्ड’ सुरुवातलाई निरन्तरता दिने कि केवल प्रारम्भिक सक्रियतामै सीमित रहने भन्ने प्रश्न अबको कार्यशैलीले स्पष्ट पार्नेछ। अहिलेलाई भने उनको कदमले सुधारको अपेक्षा जगाएको छ। तर त्यो अपेक्षा परिणाममा रूपान्तरण हुने कि नहुने कुराले नै उनको कार्यकालको सफलता मापन गर्नेछ।

शनि कुमार यादव

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...