संसद् अवरोधप्रति सरकार उदासीन, लोकतान्त्रिक मूल्यप्रति अनादर : अर्जुननरसिंह केसी
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसी ले संसद् अवरोध अन्त्य गर्न सरकार गम्भीर नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले संसद् सञ्चालनका लागि आवश्यक पहल नगर्नु प्रतिपक्षको मात्र होइन, लोकतान्त्रिक प्रणाली र संसद्को गरिमामाथिको अनादर भएको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केसीले नेपालमा संसद् अवरोध असाधारण अवस्था नभई लामो समयदेखि दोहोरिँदै आएको प्रवृत्तिका रूपमा स्थापित हुँदै गएको टिप्पणी गरेका छन्। उनका अनुसार यस्तो अवस्थाले संसदीय अभ्यास कमजोर बनाउनुका साथै लोकतान्त्रिक संस्थाप्रति जनविश्वास पनि घटाउँदै लगेको छ।
केसीले विश्वका स्थापित लोकतन्त्रहरूमा राजनीतिक विवाद र गतिरोध भए पनि त्यसको समाधान संवाद, सहमति र संस्थागत प्रक्रियामार्फत खोजिने गरेको उल्लेख गरेका छन्। बेलायतमा ब्रेक्जिट विवाद तथा भारतमा टूजी स्पेक्ट्रम प्रकर...










