निरन्तर ५० वर्ष प्रकाशित पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गरिने
प्रेस काउन्सिल नेपालले निरन्तर ५० वर्षसम्म प्रकाशन हुँदै आएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ। धादिङको सल्यानटारमा माघ १७ गते बसेको काउन्सिलको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो।
काउन्सिलले बिहीबार जारी गरेको विज्ञप्तिमा यसअघि प्रदान गरिँदै आएका पुरस्कारलाई अझ पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित कार्यविधिमा सुधार तथा परिमार्जन गर्ने निर्णयसमेत गरिएको उल्लेख छ।
त्यसैगरी, निर्वाचन आचारसंहिता जागरण अभियान धादिङबाट शुभारम्भ गर्ने निर्णय गरिएको काउन्सिलले जनाएको छ। अभियानअन्तर्गत पहिलो चरणमा सातै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडियाको भूमिकासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।
पत्रकार आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णयसमेत बैठकले गरेको छ। साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, स्वच...














