लाङटाङमा पर्यटन प्रवर्द्धनका लागि ‘ट्रेल रन’ प्रतियोगिता हुने
काठमाडौं । रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन प्रतियोगिता आयोजना हुने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आगामी जेठ २३ गते हुने जानकारी दिएको हो ।
समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार लामो समयदेखि लाङटाङ क्षेत्रको पर्यटन विकास, अध्ययन, प्रचारप्रसार तथा प्रवर्द्धनमा सक्रिय रहँदै आएको संस्थाले यसपटक साहसिक खेल पर्यटनलाई केन्द्रमा राख्दै ट्रेल रन आयोजना गर्न लागेको हो ।
वि.सं. २०७२ को विनाशकारी भूकम्पपछि प्रभावित पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न विभिन्न कार्यक्रम गर्दै आएको समाजले अब लाङटाङलाई अन्तर्राष्ट्रियस्तरको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।
प्रतियोगिता गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने क्यान्जिन गुम्बाबाट सुरु भई स्याफ्रुबेँसीसम्म करिब ३२ किलोमिटर दूर...













