अमेरिकाविरुद्ध नेपाल महिला टोलीको ऐतिहासिक डेब्यु, वुमेन्स च्यालेन्ज ट्रफी आजदेखि सुरु
काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा पहिलोपटक सञ्चालन भएको वुमेन्स च्यालेन्ज ट्रफी २०२६ मा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। नेपाली महिला टोलीले उद्घाटन खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल रुवान्डाको किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ ४:४५ बजे सुरु हुनेछ।
यो खेल नेपालका लागि विशेष अर्थ राख्छ, किनभने टी–२० अन्तर्राष्ट्रिय मान्यतामा अमेरिकासँग नेपालले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि दुवै टोलीबीच अभ्यास खेल भए पनि ती खेलले अन्तर्राष्ट्रिय मान्यता पाएका थिएनन्। नेपाल मात्र होइन, प्रतियोगितामा सहभागी अधिकांश टोलीसँग पनि नेपाली महिला टोलीले पहिलोपटक टी–२० आई खेल खेल्दैछ।
अप्रिल १८ देखि मे १ सम्म चल्ने प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन्। प्रतियोगिता डबल राउण्ड रोबिन प्रणाली...














